
‘कमेडी क्लब विथ च्याम्पियन’ नाम परिवर्तन भई पुनः प्रशारणमा आउने भएको छ । आगामी मंसिर अन्तिमदेखि ‘कमेडी नाइट विथ च्याम्पियन’ नामबाट प्रशारणमा आउन लागेको हो ।
निर्देशक विशाल भण्डारीका अनुसार नयाँ नाम र संरचनासहित शो आउने तयारीमा रहेको हो ।
थ्री–प्रोडक्सनले निर्माण गर्न लागेको यो शोलाई निर्देशक भण्डारीसहित सगुन पाण्डे र हिरण बस्नेतले निर्माण गर्दैछन् ।
‘कमेडी च्याम्पियन’को पहिलो र दोस्रो सिजनका कमेडियनले यस शोमा प्रस्तुति दिने निर्देशक भण्डारीले जनाए । उनका अनुसार सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन भट्टराई, भरतमणी पौडेल, सन्तोष थापा, सुमन कोइराला र प्रभात लामाले प्रस्तुति दिनेछन् ।
‘‘यसपटक हामीले डेढघण्टा हँसाउने प्रयास गर्नेछौं’ निर्देशक भण्डारीले भने, ‘यसपटक भव्य सेटमा कार्यक्रम संचालन हुनेछ । यसअघि आर्थिक अभावमा सेटमा कम्प्रोमाइज गर्नुपरेको थियो ।’
अध्यक्षमा दीपाश्री निरौला यथावत
‘कमेडी च्याम्पियन’को अध्यक्षको रूपमा दीपाश्री निरौला यथावत हुनेछिन् । ‘छक्कापञ्जा ५’को व्यवसायिक सफलतापछि निर्देशक निरौला टेलिभिजन कार्यक्रममा फर्किन लागेकी हुन् । नयाँ शो आउने भएपछि दीपाश्रीले सामाजिक संजालमा उत्साह व्यक्त गरेकी छन् ।