
तामाङ कलाकार संघ नेपाल तामाङ कलाकार संघले ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ सुरु गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी लोक तथा सेलो गायिका इन्दिरा गोलेलाई उपचारका लागि सहयोग गर्न संघले आह्वान गरेको हो । संघले म्हेन्दोला फोले फाउण्डेशन र तामाङ डाजाङसँग सहयकार्य गर्दै अभियान सञ्चालन गर्न लागेको विज्ञप्तिमा भनिएको छ ।
‘थप उपचारका लागि डाक्टरको भनाइअनुसार धेरै रकम खर्च हुने देखिएकोले उहाँले नेपाल तामाङ कलाकार संघ मार्फत सबैसँग अपिल गर्नका लागि अनुरोध गर्नु भएको हुँदा उहाँको जीवन रक्षाका लागि नेपाल तामाङ कलाकार संघको संयोजकत्वमा अन्य संस्था म्हेन्दोला फोले फाउण्डेशन र तामाङ डाजाङ संयोजन सदस्य रहने गरी संयुक्त रुपमा ‘गायिका ईन्दिरा गोले बचाउ अभियान’ सुरु गर्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ,
‘देश तथा विदेशमा रहेका संघ संस्थाहरु, व्यवसायीहरु, बुद्धिजीवीहरु, पत्रकारहरु, कलाकारहरु, व्यक्ति व्यक्तित्वहरु तथा सम्पूर्ण संगीत प्रेमी दाजुभाइ दिदी बहिनीहरुमा सक्दो सहयोगका लागि हार्दिक अनुरोधका साथ अपिल गर्दछौँ ।
’ गायिका गोले नेपाल तामाङ कलाकार संघकी संस्थापक उपाध्यक्ष एवं पूर्व अध्यक्ष हुन् । उनी म्हेन्दोला फोले फाउण्डेशनका कार्यसमिति सदस्य समेत छिन् ।
उनको उपचार नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा भइरहेको छ ।