
पछिल्लो समय हलहरूमा हाउसफुल भइरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’माथि मूल कथा चोरेको गम्भीर आरोप लागेको छ । ‘सङ्ग्रामपुर’ उपन्यासको कथासँग चलचित्रको मूल कथा मिलेको भन्दै लेखक डा. शिव शंकर बस्यालले ‘नियोजित नक्कल’ गरिएको आरोप लगाएका हुन् ।
डा. बस्यालले दुई दिनअघि उपन्यासका केही अंश सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ‘‘पूर्णबहादुरको सारङ्गी’को सन्दर्भ ‘सङ्ग्रामपुर’ उपन्यासको तेस्रो अध्यायसँग मिल्नु संयोग होला कि नक्कल ! यहाँ पूर्णबहादुर गाइने छ सङ्ग्रामपुरमा रुपमान भरिया ! फरक त्यति ! बाँकी बाबुछोराको मूल कथा उही !’
लेखक बस्याल त्यतिमा मात्र रोकिएनन् । उनले १० बुँदामा चलचित्रको कथा र उपन्यासको कथा मिलेको भन्दै आफ्नो धारणा पनि शनिबार सार्वजनिक गरे ।
उनले चलचित्रको ट्रेलर आउँदा नै कहीँ न कहीँ परिचित परिवेश जस्तो लागेको भन्दै चलचित्र हेरिसकेपछि आफ्नो उपन्यासँग मेल खाएको बताएका हुन् ।
उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको तर पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु–छोराको सम्बन्ध लगायतका फिल्मको मूल भावसँग मेल खाएको उनको दाबी छ।
फिल्ममा मूल पात्र पूर्ण अर्थात् विजय बराल र कमल अर्थात् बाल कलाकार र प्रकाश सपूत छन् । पूर्णको सहयोगीमा गन्धर्व नै बनेका छन् मुकुन भुसाल। भरियाको भूमिकामा छन् बुद्धि तामाङ।
‘पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छायाँ चित्रसँग मिल्छन्’, लेखक डा. बस्यालले भनेका छन्, ‘केही प्रसङ्गहरू बिलकुल विपरीत रूपमा प्रयोग गरिएका छन्। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ। तसर्थ यो संयोग होइन, यो नियोजित हो।’
उनले आफू उपन्यासको स्रष्टाको हिसाबले नैतिक रूपमा बोल्ने दायित्व भएको बताएका छन् । ‘जन्मदाताको हैसियतले रूपरङ मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो’, उनले भनेका छन्, ‘म अब नबोलौँला, तर इतिहासमा यो कोलाहाल रहिरहनेछ।’
लेखक तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले डा. बस्यालको उक्त १० बुँदे भनाइ सेयर गर्दै चलचित्रका लेखक र निर्माण पक्षले जवाफ दिनुपर्ने बताएका छन् । ‘के हो यो’ उनले प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘लेखक र निर्माण पक्षले जवाफ देओस् ।’
यस्तो छ लेखक डा. बस्यालले चलचित्र र उपन्यासको कथा मिलेको प्रसङ्गको १० बुँदा—
१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !
२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।
३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमान सङ मिल्दा छन्।
४. आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसङ मिल्दो छ ।
५. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन ।
६. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु।
७. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
८. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
९. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
१०. रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।