
तामाङ पत्रकार सङ्घ काठमाडौं जिल्ला शाखा र विश्वशान्ति चिरन-मिलन क्याम्पसबिच पत्रकारिता अध्ययन गर्ने तामाङ विद्यार्थीलाई छात्रवृत्ति दिने सम्बन्धी सम्झौता भएको छ । बुधबार बाँसबारीस्थित क्याम्पसमा गरिएको एक कार्यक्रमबीच पत्रकारिता विषय अध्ययन गर्ने तामाङ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपाने र शाखाका तर्फबाट अध्यक्ष हिरोज लोप्चनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने तामाङ समुदायका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन् । त्यसका लागि तामाङ पत्रकार सङ्घ जिल्ला शाखा काठमाडौंले सिफारिस गर्नुपर्नेछ । चार वर्षसम्म स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने सम्झौतामा उल्लेख छ ।
त्यसै गरी क्यापसमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई तामाङ पत्रकार संघले पत्रकारिता सम्बन्धि विभिन्न तालिम, गोष्ठी, प्रशिक्षण उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ।

तामाङ समुदायलाई शिक्षा क्षेत्रमा माथि उठाउने र पेसागत गुणस्तरीयतालाई निखार्ने उद्देश्यका साथ क्याम्पससँग सम्झौता गरिएको शाखा अध्यक्ष लोप्चनले बताए । शिक्षा कमजोर हुँदा हामी पछि परिरहेका छौँ । शिक्षा मार्फत् पेसागत गुणस्तरीयता ल्याउन चाहन्छौँ’, उनले भने, “यसबारे सोच्दै जाँदा क्याम्पसँग हाम्रो टिमले छात्रवृत्ति सम्बन्धी सम्झौता गर्न पाएको छ । यस्तो अवसरका लागि क्याम्पस र क्याम्पस प्रमुख न्यौपानेज्यूप्रति आभारी छौँ ।”
सङ्घ र क्याम्पसबीच पत्रकारिता अध्ययन गर्ने तामाङ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा भएको सम्झौता उदाहरणीय कार्य भएको तामाङ पत्रकार सङ्घ जिल्ला शाखाका संरक्षक तथा संस्थापक अध्यक्ष युनिकरक्षक ग्लानले बताए ।