
३ माघ, काठमाडौं । सुप्रिम सहकारीको बचत रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध जिल्ला अदालत रूपन्देहीमा पनि मुद्दा दर्ता हुने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले सहकारी ठगी र संगठित अपराध कसुरमा रविविरूद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो। बुधबार काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन कसुरमा ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
उक्त आदेशपछि रिहा भएका लामिछानेविरूद्ध रूपन्देहीमा पनि मुद्दा दर्ता हुन लागेको हो। पूर्व डिआइजी छविलाल जोशीसहित १४ जनाविरूद्ध मुद्दा दायर गर्न लागेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीका सूचना अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले रविविरूद्ध बिहीबार मुद्दा दर्ता गर्ने तयारी रहेको बताइन्।
‘सम्भवतः आज साँझ सम्म अदालतमा मुद्दा लैजान्छौं, अभियोगपत्र रूजु गर्ने काम भइरहेको छ,’ उनले भनिन्।
इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुझाएको थियो।
कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा भएका लामिछाने माथि जिल्ला अदालत रूपन्देहीमा अभियोगपत्र दर्ता भएपछि थुनछेक बहस हुनेछ। मुद्दा दर्ता भएपछि अदालतले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ।